संकटालाई हराउँदै लुका सकर क्लब सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरस्थित सहिद मैदानमा आइतबार राति भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुवै टिमबाट गोल हुन सकेन । टाइब्रेकरमा पनि बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट गरिएको थियो ।
टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।
टाइब्रेकरमा भारतका चार्ल्स, रफी, कप्तान अर्सद, क्यामदिन गोल गरेका थिए । संकटाका अनिष महर्जनको प्रहार भारतका गोलकिपर शानफिरले उत्कृष्ट बचाउ गर्दै खेल जिताए ।
संकटाका जुनियर, कुलदिप कार्की, सुरज जिंग ठकुरी, चन्दन दास र दिपक घिसिङ्गले गोल गरेका थिए ।
भारतको जितसँगै विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । भारतले अब फाइनल प्रवेशका लागि चैत १४ गते साविक बिजेता एपीएफसँग खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
खेलको म्यान अफ द म्याच भारतका गोलकिपर महोमद सनफिर घोषित भए । उनले नगद ११ हजार पाए ।
संकटाले २०६९ सालमा दोस्रो संस्करणको विराट गोल्डकपको उपाधि हात पारेको थियो ।