सरकार पुनर्गठन सकसः ८ मन्त्रालयमा कांग्रेसको दाबी

काठमाडौं । सरकारलाई पूर्णता दिनका लागि दलहरुबीच गृहकार्य तीव्र बनाइएको छ । सत्तारुढ दल र समर्थन गर्ने दलहरुले मन्त्रालयमा दाबी गर्ने क्रम पनि बढेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिने विषयमा शनिबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको थियो ।

सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा साँझ बसेको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले मन्त्रालयको भागबन्डामा कांग्रेसले पाउने मन्त्रालयको संख्या टुंगो लागि नसकेको जानकारी गराएका थिए ।

बैठकमा खड्काले पार्टीबाट ८ मन्त्रालयको दाबी रहे पनि गठबन्धनभित्र ७ मात्रै दिन सकिने कुरा आएको बताएका थिए ।

प्रधानमन्त्री दाहालले सरकारमा १० राजनीतिक दललाई संलग्न गराउन खोजेका छन् । गठबन्धनमा ८७ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दलका रुपमा छ ।

शनिबारको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।

उम्मेदवारको विषयमा छलफल गर्न कांग्रेसले सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाइने भएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले उपचुनावका लागि दुई दिनपछि उम्मेदवार टुंगो लगाउने र सिट बाँडफाँट गरेर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको बताएका छन् ।

आगामी वैशाख १० गते प्रतिनिधसभा सदस्यका लागि बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *