झोराहाटमा शनिबारे साहित्यिक जमघट

विराटनगर । झोराहाट नाट्य समूहको ‘झोराहाटमा साहित्य’ अभियानअन्तर्गत चैत महिनाको शृङ्खला शनिबार सम्पन्न भएको छ ।

कवि हरि कट्टेलको प्रमुख आतिथ्य र प्राज्ञ तथा अग्रज साहित्यकार विवश पोखरेलको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा विभिन्न स्थानबाट ५७ जना साहित्यकार, अभियन्ता तथा शुभेच्छुकहरुको उपस्थिति थियो ।

कार्यक्रममा कवि पुण्य चौँलागाईँ, मुना स्वीकृति रेग्मी, लक्ष्मी रायमाझी खड्का, मुना आत्रेय र आलोक खनालले दुई चरणमा आ–आफ्ना सिर्जनाहरु सुनाएका थिए ।

प्रमुख अतिथि कट्टेलले भर्खरै लोकार्पण भएको कवि रोहिणी रसिकको कवितासङ्ग्रह ‘छन्द आराधना’ माथि चर्चा गर्दै शब्दहरुको काव्यिक शक्ति सङ्ग्रहमा छ्याङ्ग देख्न सकिने उल्लेख गरे ।

विशिष्ट अतिथि प्राज्ञ पोखरेलले कविहरुप्रति शुभेच्छा व्यक्त गर्दै झोराहाट नाट्य समूहको निरन्तर अभियानप्रति प्रशंसा गरेका थिए ।

हरेक महिनाको दोस्रो शनिवार नियमित रुपमा सञ्चालन हुने गरेको कार्यक्रममा सभापतिको रुपमा सांस्कृतिक अभियन्ता तथा गीतकार इन्द्र न्यौपाने थिए ।

कार्यक्रममा विराटनगर, इनरुवा, इटहरी, सुन्दरहरैँचा, बेलबारी, दमक, कटहरी, धनकुटा लगायतका स्थानबाट स्रष्टाहरु सहभागी भएका थिए ।

आयोजक संस्थाका भरत गुरागाईँ बर्बरिकले चाँडै सिक्किम र आसामका साहित्यकारहरुको सहभागितामा अन्तरदेशीय कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

समूहले नियमित साहित्यिक कार्यक्रमका साथै नाटक मञ्चन पनि गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *