इस्लाम धर्मावलम्बीको पर्व रमजान सुरू

काठमाडौँ । इस्लाम धर्मावलम्बीले मनाउने महत्वपूर्ण पर्व रमजान सुरु भएको छ । यस पर्वका अवसरमा मुसलमान समुदाय एक महिनासम्म दिनभरको समय निराहार बस्छन् ।
मुसलमान समुदायले उर्दू पात्रोअनुसार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार बस्नुपर्ने नियम छ । यसलाई रोजा भनिन्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने नियम छ ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ । बिहान तोकिएको समय अघि र बेलुका तोकिएको समयपछि मात्र खानेकुरा खाने चलन छ ।
रमजान उर्दू पात्रोअनुसार हिजरी संवत् १४४४ हो भने महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ ।
यो महिनामा ‘अल्लाह’ को विशेष कृतज्ञता प्राप्त हुने विश्वास मुसलमान समुदायको छ ।
रमजान मुसलमान समुदायका महिलाका लागि शुभ लाभको महिना पनि मानिन्छ । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ ।
एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य उपवास बस्नुपर्ने हुन्छ । मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्त्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् ।