एक वर्षमा थपिए क्षयरोगका ३७ हजार बिरामी

काठमाडौं । आज विश्व क्षयरोग दिवस । श्वासप्रश्वासका माध्यमबाट सर्न सक्ने क्षयरोगबारे जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाइँदै छ ।

नेपालमा क्षयरोग रोकथाम र उपचार सेवा प्रभावकारी नहुँदा अझै पनि बिरामीहरुका लागि सहज अवस्था पाइँदैन ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा ३७ हजार भन्दा बढी क्षयरोगका बिरामी थपिएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३७ हजार ८६१ जना क्षयरोगका बिरामी थपिएको तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको हो । गत वर्षको तुलनामा यस आर्थिक वर्ष १० हजार बढी नयाँ बिरामी पत्ता लागेका हुन् ।

तीमध्ये पुरुष ६१.६ प्रतिशत र महिला ३८.४ प्रतिशत छन् भने करिब ८.७ प्रतिशत १५ वर्ष मुनिका बालबालिकाहरू क्षयरोगबाट ग्रसित छन् ।

यीमध्ये ९१.५ प्रतिशत क्षयरोगका बिरामीको उपचारपछि निको भएको जनाइएको छ ।

हरेक वर्ष क्षयरोगका बिरामी बढे पनि नेपालमा स्वास्थ्य संस्था र उपचारको अवस्था सुधार हुन सकेको छैन ।

नेपालगन्जमा क्षयरोगीका लागि अस्पताल बनाउने सरकारको योजना पनि अपूरै छ । जटिल अवस्थाका क्षयरोगका बिरामीले अस्पतालमै बसेर उपचार सेवा पाउन सकेका छैनन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्षयरोगका बिरामीलाई सेवा दिने गरी बनाउन लक्ष्य राखिएको अस्पताल निर्माणका काम पनि अघि बढ्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *