विद्यार्थीको दुःखमा सहपाठी र शिक्षकहरुको साथ

विराटनगर । आफ्ना विद्यार्थीका बुवाको मृत्यु भएपछि पोखरिया माध्यमिक विद्यालयले परिवारका लागि आर्थिक सहयोग गरेको छ ।
विराटनगर १ का देवीप्रसाद आचार्यको मृत्यु भएपछि विद्यालयका अध्यापक मेघनाथ रिजालसहितको टोलीले उनको घरमै पुगेर सहयोग गरेको हो ।
टोलीमा विद्यालयका विद्यार्थी एवं अरु शुभेच्छुकहरु पनि सहभागी थिए ।
आचार्यका छोरा दिपेश आचार्य र छोरी दीक्षा आचार्य पोखरिया माविको कक्षा १० मा अध्ययनरत छन् । उनीहरु एसईई परीक्षाको तयारीमा छन् ।
विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीहरुबाट संकलन गरिएको ६० हजार २५० रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको थियो ।
दिपेश र दीक्षालाई आगामी दिनमा थप शिक्षा आर्जनका लागि सहयोग गर्ने वचन पनि उनीहरुले दिए ।
विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई, शिक्षक परिवार र विद्यार्थीहरुको समर्पण र सहयोगी भावना उदाहरणीय भएको साहित्यकार तथा कलाकार भरत गुरागाईं बर्बरिकले बताए ।
पोखरिया माध्यमिक विद्यालय गुणस्तरीय पढाइका लागि चर्चित छ ।
पछिल्ला दिन निजी विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु पनि यो विद्यालयप्रति आकर्षित भइरहेका छन् ।
पढाइको गुणस्तरमा त अब्बल नै छ, आफ्ना विद्यार्थीको दुःखमा पनि साथ र भरथेग गरेर विद्यालयले सराहनीय काम गरेको गुरागाईंले बताए ।