‘छक्का पन्जा-४’ क्यानाडामा हाउसफुल चल्दै

काठमाडौं। भरखरै दर्शकमाझ आएको नेपाली फिल्म ‘छक्का पन्जा-४’ क्यानाडा आइपुगेको छ। यहाँका विभिन्न सहरमा हाउसफूलका साथ चलचित्र प्रदर्शन गरिएको छ।

स्कारबोरो र मिसिसागामा पहिलो चरणमा प्रदर्शन गरिएको फिल्म हेर्न हल भरिभराउ थिए। टोरन्टो क्षेत्रका नेपाली दर्शक सपरिवार फिल्म हेर्न पुगेका थिए।

मार्च १८ र १९ मा प्रदर्शित उक्त फिल्म ‘दर्शकको माग अनुरुप’ अझै केही दिन देखाइने भएको त्यहाँबाट प्रकाशित हुने ‘नेपाल टच’ अनलाइनले उल्लेख गरेको छ।

क्यानाडाका लागि फिल्मका वितरक क्रिजल अधिकारी केसीका अनुसार फिल्मले यहाँ दर्शकको अपार सहयोग र साथ पाएको छ।

‘द टी लिभ्स’ कम्पनीका सुजन गुरुङ पनि फिल्म प्रदर्शनमा सक्रिय छन्। उनले बाँकी दर्शकहरुलाई पनि चौथो सिक्वेलको यो फिल्म हेर्न आग्रह गरेका छन्। हेरिसकेका दर्शकबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए।

हेमराज बीसीद्वारा निर्देशित फिल्ममा दीपकराज गिरी, स्वस्तिमा खड्का, दीपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय हेर्न पाइन्छ।

कथावस्तु दीपकले तयार पारेका हुन् भने त्यसलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन्। निमेष श्रेष्ठको सम्पादनमा बनेको फिल्मका निर्माता दीपेन्द्र खनियाँ र केशव न्यौपाने छन्। कार्यकारी निर्माताका रुपमा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।

राजनीतिक विषय र विकृतिका कुराहरुलाई विषयवस्तु बनाइएको ‘छक्का पन्जा-४’ ले नेपालमा पनि उत्साहजनक रुपमा दर्शकको साथ पाइरहेको छ।

पछिल्लो तथ्यांकअनुसार प्रदर्शन जारी फिल्मले १० करोडभन्दा बढी व्यापार गरेको जनाइएको छ।

–तस्बिर साभारः नेपाल टच


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *