देशभर मौसम बदलिँदै, धेरैतिर मध्यम वर्षाको सम्भावना

काठमाडौं । केही दिनयता फेरिँदै गरेको मौसमले वर्षाको संकेत गरिरहेको छ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा भइरहेको विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।
दिउँसो वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरु तथा बाँकी भूभागका कतिपय थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
राति पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनेछ ।
देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
भोलि मंगलबार पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । कोशी र वाग्मती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।