आँखाले देखे जति होइन जिन्दगी

के गुनासो गर्नु र
कहिल्यै नफर्किने हिजोसँग
के आशा राख्नु र
भेट्दै नभेटिने भोलिसँग
जिन्दगी न हिजो जस्तो छ
जिन्दगी न भोलि जस्तो छ
बाँच्नै परे या साँच्नै परे
हाँस्नै परे या रुनै परे पनि
जिन्दगी त ‘आज’ भएर
झिमिक्क आँखा
झिम्काए जस्तो मात्र छ ।
***
कोही हिजो सम्झिएर हाँस्छन्
कोही भोलि सम्झिएर बाँच्छन्
हिजो सम्झिए पनि,
भोलि नै सम्झिए पनि
जिन्दगी आज भएरै हाँस्छन्,
जिन्दगी आज भएरै बाँच्छन्
किनकि
जिन्दगी मनले सोचे जति होइन
जिन्दगी सबै खोजे जति होइन
जिन्दगी सधैँ रोजे जति होइन
जिन्दगी सबै भोगे जति पनि त होइन
जिन्दगी त बाँचिरहेको
समयको एउटा अंश जति मात्रै हो ।
***
कोही सुखमा डुबेर आँसु झार्छन्
कोही दुःखमा मुटु थिचेर हाँस्छन्
सुखका आँसु झरे पनि
दुःखका आँसु झरे पनि
जिन्दगी आँखा रसाएरै बग्छन्
जिन्दगी परेला भिजाएरै खस्छन्
किनकि
जिन्दगी हिँडे जति सबै होइन
जिन्दगी बगे जति सबै पनि होइन
जिन्दगी आँखाले देखे जति होइन
जिन्दगी सबै लेखे जति पनि होइन
जिन्दगी त हिजोको थकाइ
र भोलिको पर्खाइमा सुस्ताएको
चौतारीको यात्री जस्तै मात्र हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *