भीषण, झुमा र गौतमको बयान ‘स्वर्गसरि इलाम’

काठमाडौं । इलाम यसै पनि पर्यटकीय दृष्टिले आकर्षक । कृषिमा अग्रणी । कला, संगीत, साहित्य अनि संस्कृति संरक्षणमा सक्रिय पुस्ता जन्माएको पूर्वी पहाडी जिल्ला ।
इलाम भनेपछि हत्ते गरेर घुम्न आउनेको संख्या कम छैन । तर अझै पनि यहाँका सबै सुन्दर ठाउँको पर्याप्त प्रचार हुन नसक्दा ओझेलमा परेको मानिन्छ ।
यही कुरालाई ध्यान दिँदै सुन्दर शब्द, संगीत अनि स्वरका साथै आकर्षक दृश्यहरुको छायांकन गरी नयाँ गीत तयार भएको छ । गीत र यसको म्युजिक भिडियोले इलामको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने विश्वास लिइएको छ ।
गौतम डंगोल ‘सन्देश’ का शब्दलाई संगीतबद्ध गरी भीषण निरौलाले आफू र झुमा निरौलाको स्वरमा कर्णप्रिय गीत बनाएका छन् ।
यो गीतको एरेन्जरमा प्रदिप श्रेष्ठ छन् भने रेकर्डिस्ट मा रदिप श्रेष्ठले काम गरेका छन् । काठमाडौंको पुतलीसडकस्थित भ्वाइस स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।
म्युजिक भिडियोको निर्देशन अन्जन शर्माले गरेका छन्। समिश्रण मुभिज एण्ड इन्टरटेनमेन्टले बनाएको भिडियोका निर्मातामा डंगोल, भीषण र झुमा छन् ।
इलामको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले संघीय राजधानीबाट १५ जनाको टोली आएर एक सातासम्म इलामका विभिन्न स्थानमा यो गीतका लागि छायांकन गरेको थियो ।
इलाम बजार, चिया बगान, बिब्ल्याँटे बजार, पानीटार, माइपोखरी, देउराली, नारायणस्थान, पुवाखोला, माइखोला, आइतबारे, फिक्कललगायत स्थानको सौन्दर्य गीतको म्युजिक भिडियोमा कैद गरिएको छ ।
यसैगरी पञ्चकन्या, श्रीअन्तु, कन्याम, सानो पाथीभरा, पशुपतिनगर, सेतीदेवी, साँखेजुङलगायत स्थानलाई पनि सुन्दर रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।
गीतले यसो भन्छ–
यहाँ स्वर्ग भन्ने कुनै ठाउँ भए
त्यो हो मेरो गाउँ
कुहिरोमा लुकी बस्ने
इलाम मेरो ठाउँ
यहाँ स्वर्ग भन्ने कुनै ठाउँ भए
माइपोखरी देउरालीले संसारै भुलाउँदा
पाथीभरा नारायणथानमा श्रद्धा अर्पण गर्दा
अलैँची र अम्लिसोले धनधान्य गराउँदा
माइखोला र पुवा खोलाले मनको गीत गाउँदा
यहाँ माया साट्ने कुनै ठाउँ भए
त्यो हो मेरो गाउँ
मंगलबारे आइतबारे यही हो मेरो गाउँ
यहाँ स्वर्ग भन्ने कुनै ठाउँ भए
कन्यामैले स्गागतमा छाती चौडा पार्दा
चियाबारीले लैबरीमा प्रेम गति गाउँदा
नागबेली बाटाहरु छमछमी नाच्छन्
फिक्कल अनि पशुपतिले मायाप्रीति लाउँछन्
यहाँ खुसी भन्ने कुनै नाउँ भए
त्यो हो मेरो गाउँ
पञ्चकन्या सेतीदेवी यही हो मेरो ठाउँ
यहाँ स्वर्ग भन्ने कुनै ठाउँ भए
अन्तु डाँडा हाँसिदिन्छ घामको झुल्को पर्दा
इलामेली निश्चल मनले नमस्कार गर्दा
हिमाल पहाड आफैँ आफैँ मुस्काउन थाल्छन्
साँखेजुङ र सन्दकपुरमा लालीगुराँस फुल्छन्
यहाँ प्रीति फुल्ने कुनै ठाउँ भए
त्यो हो मेरो गाउँ
नामसालिङ र नयाँ बजार यही हो मेरो गाउँ
यहाँ स्वर्ग भन्ने कुनै ठाउँ भए…
————–
पृष्टभूमि तस्बिरः हरि गुरुङ