आज चयन गरिँदै नयाँ उपराष्ट्रपति

काठमाडौं । गणतान्त्रिक नेपालको नयाँ उपराष्ट्रपति आज शुक्रबार चयन गरिंदैछ । यसका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन कार्यक्रम तय गरिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् परिसरमा राष्ट्रपति चयन गर्न मतदान हुनेछ ।
मतदानका लागि सबै तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि प्रदेश र संघका मतदाताका लागि छुट्टाछुट्टै मतपेटिका राखिने कार्यालयले जनाएको छ ।
उपराष्ट्रपतिको प्रतिस्पर्धामा सत्तारुढ १० दलको तर्फबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार छिन् ।
नेकपा एमालेबाट उपाध्यक्ष अष्ट्रलक्ष्मी शाक्य प्रतिस्पर्धामा छन् । जसपाकी प्रमिला कुमारीले मनोनयन गरे पनि उनले आफ्नो उम्मेदवारी निष्कृय बनाइसकेकी छन् ।
राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति पदको निर्वाचनमा पनि सङ्घीय संसद्का दुवै सदनका सदस्य र प्रदेशसभाका ८८२ सदस्यले मतदान गर्न पाउने छन् ।
निर्वाचनको परिणाम आजै साँझ सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।