ज्योति जङ्गलको ‘आधा शिर उचालेर’ विमर्श

विराटनगर । कवि ज्योति जङ्गलद्वारा लिखित ‘आधा शिर उचालेर’ कविता सङ्ग्रहमाथि विमर्श गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले बिहीबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको विमर्श कार्यक्रममा कवि साहित्यकारहरुले कविता सङ्ग्रहमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए ।

अग्रज साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, पत्रकार अनन्तराज न्यौपाने, कवि शुभलक्ष्मी लम्सालले कविता सङ्ग्रह पठनीय भएको बताएका थिए ।

कवि रमेश सायनले सहजीकरण गरेको कार्यक्रममा प्राज्ञ विवश पोखरेलले सङ्ग्रहमा ग्रामीण जनजीवनका भाव र विम्बलाई कलात्मक रुपमा प्रस्तुत गरिएको बताए । कवि शुभलक्ष्मी लम्सालले सङ्ग्रहमा नारी विद्रोहलाई सुन्दर रुपमा प्रस्तुत गरिएको उल्लेख गरिन् । पत्रकार न्यौपानेले नयाँ विम्ब र प्रतीकको प्रयोगले कविता सङ्ग्रह सुन्दर भएको बताए ।

कवि रमेशचन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कवि राधिका गुरागाईं, सविता गौतम दाहाल, दीपक शम्चु र दीपा दाहालले सङ्ग्रह भित्रका कविता वाचन गरेका थिए ।

कवि जङ्गलले पुरुषको तुलनामा महिलाहरु अहिले पनि स्वतन्त्र नभएकाले यो कविता सङ्ग्रहको नाम आधा शिर उचालेर नाम राखिएको बताइन् ।

सङ्ग्रहमा विभिन्न विषयवस्तुमा आधारित ४३ कविता समावेश छन् ।

कवि जङ्गलका यसअघि ‘पहाडको मन’, ‘मुक्त समय’ कविता सङ्ग्रह, ‘अक्षरमा तिमी’ गजल सङ्ग्रह र ‘छाया’ कथा सङ्ग्रह प्रकाशित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *