युएईसँग नेपालको निर्णायक खेल आज

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले युएईको सामना गर्दै छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहीबार बिहान साढे ९ बजेदेखि सुरु हुँदैछ।
२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो। नेपाल जित निकाल्दै विश्वकप छनोट खेल्ने योजनामा छ।
त्रिकोणत्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनको कीर्तिमानी रुपमा पराजित गरेको थियो।
नेपालले लिग टू का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ।
लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर छनोट हुनेछ।
समान खेलबाट ३३ अंक जोडेको युएई छैटौं स्थानमा छ। लिग टू मा स्कटल्याण्ड शीर्ष स्थानमा रहदै र ओमान दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगिसकेका छन्।
अब शीर्ष तीनमा नामिबिया र नेपालमध्ये एक हुने निश्चित भएको छ। नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा छ।