अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा संघमा योग प्रशिक्षण

विराटनगर । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा योग प्रशिक्षण शिविर आयोजना गरियो ।
मोरङ व्यापार संघको महिला उद्यम समितिले पतञ्जलि योग महानगर समिति, विराटनगरको सहकार्यमा बिहीबार योग शिविर आयोजना गरेको हो ।
अन्तर्राष्ट्रिय योग प्रशिक्षक एवं योगापीस संस्थान, जयपुर, भारतका संस्थापक योगाचार्य ढाकाराम सापकोटाबाट योग प्रशिक्षण गराइएको थियो ।
संघको महिला उद्यम समितिकी संयोजक बन्दना जैनले विशेषगरी उद्योगी, व्यवसायीलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको सभापतित्वमा भएको कार्यक्रम समितिकी सचिव साधना झाले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा महिला उद्यम समितिकी संयोजक बन्दना जैनले सहभागीको स्वागत गरेकी थिइन् ।
पतञ्जलि योग महानगर समितिका महासचिव राजुचन्द्र दाहालले कार्यक्रमबारे जानकारी दिएका थिए ।
योगाचार्य ढाकाराम सापकोटाले दैनिक जीवनलाई सन्तुलित राख्न आवश्यक योग विधिहरुबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संघका सचिव सञ्जय श्रेष्ठसहित कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, उद्योगी, व्यवसायी, समाजसेवीलगायतको सहभागिता थियो ।