नबोलाउ मलाई नारी दिवस मनाउन

ए सरकार…
नबोलाउ मलाई नारी दिवस मनाउन
नलगाउ मलाई नारी जितका नारा लगाउन
पीडकलाई फूलमाला
र, पीडितलाई आर्तनाद चर्याउने तिम्रा कर्महरुलाई
आहा कति राम्रो भनी स्तुतिका ताली पिट्न बाध्य बनाउन

ए सरकार…
बरु यसपालि पीडक पुरुष दिवस मनाउ
पीडक पुरुषकै वीरताको गाथा सुनाउ
पीडक पुरुषलाई न्याय दिन सकेकोमा
सिन्दुरे जात्रा सहितको महाउत्सव मनाउँदै
पीडकलाई फूलमालाले सिंगारेर
अहम् सफलताको नारा लगाउ

ए अदालत….
अबदेखि पीडितको मुद्दालाई दरपीठ लगाइदेउ
पीडितका आँशुलाई सेलिब्रेटीजका चर्चाले झापड लगाइदेउँ
पीतिका रुवाइलाई दन्त्यकथाका पात्रको जस्तो
अट्टाठहास गर्दै पीडाहरुको भुमरीमा डुबाइदेउ
न पद न पैसा न त हुल हुज्जत नै गर्न सक्ने
ती अबोध बालिकाहरुको भोगाइ त सर्लक्कै फालिदेउ

ए अदालत…
बरु अब निर्मला पन्तका पीडकहरुलाई पनि खोजी खोजिदेउ
उीनहरुलाई पनि जितको तक्मा पहिर्याइदेउ
बलात्कार गरेर तक्मा प्राप्त गर्नेहरुको
झुण्ड बनाई ‘पीडक न्यायिक समूह’ को शासन चलाइदेउ

त्यसैले…
पीडितलाई न त संरक्षण गर्ने
न त न्याय नै दिने ए सरकार
म फेरि के रहरले तिम्रो साथमा नारी दिवस मनाउँ
पीडितलाई पीडाको बदलामा झन पीडा थप्ने ए अदालत
म कसरी तिम्रो न्यायको अनुभव गरुँ ?

त्यसैले…
मलाई जानु छैन तिमीसँग उत्सव मनाउन
तिम्रो भाकामा भाका थप्न
अनि पीडकको जितको गुनगान गाउन
बरु एक्लै किन न हुँ म
पीडितको साथमा नै रहिरहन्छु
बरु हार किन सहनु नपरोस्
म उनको आवाजमा श्वास थपिरहन्छु
बरु एक्लो किन बाँच्नु नपरोस्
म उनको पीडालाई मलमपट्टी गरिरहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *