थपियो सोलुखोला दूधकोशीको ८६ मेगावाट बिजुली

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको ८६ मेगावाटको सोलु खोला दूधकोशी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । यसअघि १५ दिन परीक्षण उत्पादन गरिएको थियो ।

साहस ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजना माघ २७ देखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो ।

सोलु दूधकोशी आयोजना स्वदेशी पुँजीमा बनेको निजी क्षेत्रको सबैभन्दा ठूलो तथा नेपालको तेस्रो ठूलो आयोजना हो ।

साहस ऊर्जाका अध्यक्ष हिम पाठकले स्वदेशी मेहनतमै ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित भएको बताएका छन् ।

सोलु दूधकोशी आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीमा ३.५८ प्रतिशत योगदान पुर्‍याउने साहस ऊर्जाले जनाएको छ ।

०७१ असोज ६ मा विद्युत् विकास विभागबाट इजाजत पाएको सोलु खोला दूधकोशी जलविद्युत् परियोजनाले नेपाल विद्युत् प्राधिकरणसँग ०७१ फागुन १३ मा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो ।

सोलु दूधकण्ड नगरपालिका–११ स्थित सोलु खोलाको पानी ४ हजार ६ सय ७० मिटर लामो भूमिगत सुरुङमार्ग र १९ सय ५२ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दूधकोशी गाउँपालिका–३ मैकुबेंसीमा खसाई ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो ।

सोलु दूधकोशी जलविद्युत् आयोजना लाम्माने सबस्टेसनमा रहेको १३२ केभीए सोलु करिडोरमा जोडिएको छ ।

०७४ माघमा कम्पनीले सिभिल क्षेत्रको निर्माणको जिम्मा इटालियन कम्पनी सीएमसी दी रिभेन्नालाई दिएको थियो । सम्झौताअनुसार काम नगरेको भन्दै उक्त ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गरिएको थियो ।

त्यसपछि सीई कन्स्ट्रक्सनले ठेक्का लिएर सिभिलतर्फको काम समयमै सम्पन्न गरी आयोजनाले पूर्णता पाएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *