‘योगदान राष्ट्रका लागि’ द्वारा प्राथमिक उपचार तालिम

झापा । शिवसताक्षी नगरपालिकामा तीन दिने प्राथमिक उपचारसम्बनधी प्रशिक्षण दिइएको छ ।
सोमबार सम्पन्न तालिम ‘योगदान राष्ट्रका लागि’ संस्थाको झापा शाखाले आयोजना गरेको थियो ।
तालिममा इलाम, झापा, सुनसरी, मोरङ, पाँचथर, धरान, धनकुटा, ओखलढुंगा स्थानबाट प्रतिनिधित्व गर्दै सहभागीहरु भेला भएका थिए ।
देशका विभिन्न जिल्लामा प्रशिक्षण दिंदै आएका अन्तर्राष्ट्रिय प्रशिक्षक ओमप्रसाद उप्रेतीले प्रशिक्षण दिएका थिए ।
तालिमका अवसरमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण पनि दिइएको थियो ।
पानीमा डुबेका व्यक्तिलाई कसरी बचाउने, सर्पले टोकेका व्यक्तिलाई कसरी प्राथमिक उपचार गर्ने र अस्पताल पुर्याउने, घाउचोट लाग्दा कसरी प्राथमिक उपचार गर्नेजस्ता विषयमा प्रशिक्षण दिइएको थियो ।
कुनै घटनामा परी घाइते हुँदा घरमै उपचार हुन नसक्ने अवस्थामा कसरी स्वास्थ्य संस्था पुर्याउने भन्ने विषयमा पनि जानकारी दिइएको थियो ।
‘प्राथमिक उपचार, हाम्रो सरोकार’ मूल अवधारणासहित देशका विभिन्न स्थानमा यस्ता तालिमहरु प्रदान गरिंदै आएको छ ।
तालिमका क्रममा सिकेका कुराहरु महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागीहरुले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए ।