युएईलाई हराउँदै नेपाल लिग-२ को पाचौँ स्थानमा

काठमाडौं । युएइएलाई हराउँदै नेपाल आईसीसी विश्व कप क्रिकेट लिग-२ को पाँचौँ स्थानमा उक्लिएको छ ।
सोमवार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा यूएईलाई ४२ रनले हराउँदै नेपाल लि-२ को पाँचौँ स्थानमा उक्लिएको हो ।
नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १ सय ८७ रनमै अलआउट भयो । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनायो ।
नेपालका लागि भीम सार्कीले ९९ बलमा ७० रन बनाएका थिए। यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए। करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए। यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। नेपालको ३२ खेलमा ३२ अंक भएको छ।
त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ। यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौं स्थानमा झरेको छ। यूएईको ३२ खेलमा ३१ अंक छ।