प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढ्यो दूधको मूल्य

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । मन्त्रिपरिषद् बैठकले किसानले पाइरहेको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने शुक्रबार निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य बढाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो ।

दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माको भनाइ छ ।

यसअघि किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा पाउँदै आएकामा अब प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पाउने मन्त्री शर्माले बताइन् ।

किसानलाई राहत हुने गरी कच्चा दूधको मूल्य बढाइएको उनको दाबी छ ।

किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा उक्त मूल्य पाउनेछन् ।

मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरेको थियो ।

त्यसपछि अध्ययनका नाममा सरकारसँग मिलेमतो गरी प्रतिलिटर १४ रुपैयाँ बढाउने तयारी थियो । त्यसको पनि विरोध भएपछि दाना, चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको थियो । बोर्डको प्रस्तावका आधारमा कृषिले मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको थियो।

मन्त्रिपरिषद्को निर्णयसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य बढाउन दुग्ध विकास संस्थान (डीडीसी) लाई परिपत्र गर्छ । त्यसपछि किसानले पाउने मूल्य कार्यान्वयन हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *