अन्तर स्कूल महिला क्रिकेट शनिबारदेखि

विराटनगर । प्रथम विराटनगर हब अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

लिगको आधारमा १५ ओभरको खेल खेलाइने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फागुन २२ गतेसम्म विराटनगर ६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा हुन लागेको फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिकाभित्र रहेका ६ वटा सामुदायिक विद्यालयका महिला खेलाडीहरुले भाग लिनेछन् ।

विराटनगरको आदर्श, बालिका, महेन्द्र, सरस्वती, सत्यनारयण र जहदामा रहेको लक्ष्मी माविले प्रतियोगितामा भाग लिने उनले बताए । प्रतियोगिताको प्रवद्र्धन विराटनगर महानगरपालिकाले गर्नेछ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागि हुने टिमलाई शुल्क लाग्ने छैन । प्रतियोगितामा बेस्ट ब्याटर, बेस्ट बलर, प्लेयर अफ द स्कोर, बेस्ट विकेट किपर, उदयमान खेलाडीलाई फाउण्डेसनले एक वर्षको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । महिला क्रिकेट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

‘केटाहरुले मात्र क्रिकेट प्रतियोगिता खेल्नुर्छ भन्ने धारणा छ । यसलाई तोड्दै महिला क्रिकेट खेलाडी उत्पादन गर्दै खेलकुद क्षेत्रको विकास गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘त्यसैले महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।’

महिला क्रिकेट खेलाडी उत्पादन गर्न विद्यालयस्तरदेखि फाउन्डेसन लागि परेको उनले बताए । करिब ६ महिना अगाडीदेखि विराटनगर र जहदाका २० वटा सामुदायिक विद्यालयहरुमा दक्ष प्रशिक्षक पठाएर महिला खेलाडी उत्पादनमा लागि परेको उनले बताए ।

‘क्रिकेट खेलमा महिला खेलाडी उत्पादनको लागि हामीले लामो समयदेखि लागि परेका थियौं,’ उनले भने, ‘सामुदायिक विद्यालयहरुमा कोच पढायौं र त्यहाँ इच्छुक खेलाडीहरुलाई प्रशिक्षण गराएपछि अहिले क्रिकेट खेलाडी उत्पादन गरेका छौं । खेलाडी उत्पादन गरेपछि अहिले महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।’

पत्रकार सम्मेलनमा विभिन्न विद्यालयमा छात्राहरुलाई क्रिकेट प्रशिक्षण दिइरहेका खेलाडीहरु सोनु राजवंशी, सालु राजवंशी र क्रिकेटका अम्पायर माझीलाल शर्मालगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *