शनिबारदेखि इटहरीमा जीवन विज्ञानको ‘जागरण उत्सव’

सुनसरी । सुनसरीको इटहरीमा शनिबारदेखि ‘पूर्वाञ्चल जागरण उत्सव’ सञ्चालन हुने भएको छ । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा हुने उत्सवमा देश विदेशबाट प्रतिनिधिहरुको सहभागिता हुने भएको छ ।

जागरण उत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको आयोजक समितिकी कोशी प्रदेश अध्यक्ष बालिका भट्टराईले बताइन् ।

जीवन विज्ञान प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति एवम् समृद्दिले भरिएको समाज निर्माण तथा आध्यात्मिक उन्नयनका लागि काम गर्ने प्रतिष्ठान हो ।

तनाव, चिन्ता, निरासा र अस्तव्यस्त जीवनशैलीलाई व्यवस्थापन गर्दै आएको प्रतिष्ठानको जागरण उत्सवमा विभिन्न देशका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

जीवन विज्ञानका संस्थापक जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्माका अनुसार खुसी एवम् गहन शान्ति र आनन्दपना प्रतिष्ठित गराउने जीवन विज्ञानका कार्यक्रमबाट लाखौं मानिसहरूको शारीरिक एवं मानसिक स्वास्थमा सुधार आएको भनाइ छ ।

स्वदेशमा मात्र सीमित नभई आफ्नो कार्यक्रमबाट ५५ भन्दा बढी देशमा बसोबास गर्ने व्यक्तिहरू लाभान्वित भएको शर्माले बताए ।

कार्यक्रम आयोजना गर्ने सन्दर्भमा केही दिनअघि प्रधानमन्त्री दाहालसँग संस्थाका प्रतिनिधिहरुले भेट गरेका थिए । भेटमा जीवन विज्ञानका संस्थापक शर्मा, केन्द्रीय संयोजक होमनाथ आचार्य, विदेश विभाग प्रमुख प्रतीक शर्मा, केन्द्रीय सचिव किरण रुपाखेती, गौतम बुद्ध जीवन योगका संयोजक, एक नारायण शर्मालगायतको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *