यूएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपमा

काठमाडौं । नेपाल आईसीसी यू–१९ एसिया विश्वकपमा पुगेको छ । यूएईलाई बिहीबार ७ रनले हराउँदै विश्वकपमा नेपालले स्थान सुरक्षित गरेको हो ।

१९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गर्‍यो । दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए ।

६ राष्ट्र सम्मिलित प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो ।

नेपालले सबै पाँच खेल जित्यो भने यूएईले पाँचमध्ये ४ खेल जित्यो ।

नेपाललाई विजय दिलाउने क्रममा ह्याट्रिक हिरो दीपेश कँडेल ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चिएका थिए ।

४८ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार तीन विकेट लिएका थिए । हेमन्त धामीले र सुवास भण्डारीले २–२ विकेट लिए ।

यूएईबाट कार्ल डिसुजाले ५० रन बनाए । ६६ बल खेलेका उनले ८ चौका प्रहार गरे । आर्यान सक्सेना ३४‚ आर्यान्स शर्मा ३२‚ अमर बदामी १९ र ध्रुव पराशर १७ रनमा आउट भए ।

यसअघि यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भएको थियो ।

हरिश शेट्टीले खेलको पहिलो बलमै दीपक बोहरालाई बोल्ड गरेका थिए । अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रनमा आउट भएपछि नेपाल सातौं ओभरमा १९–३ को स्थितिमा पुगेको थियो ।

कप्तान देव खनालको अर्धशतकले नेपालले खेलमा पुनरागमन गरेको थियो । उनले उत्तम थापा मगरसँग चौथो विकेटमा ८४ रनको साझेदारी गरे ।

देवले ५१ रन बनाउने क्रममा ८४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । उत्तमले ४८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए ।

विशालविक्रम केसीले ५० बल खेल्दै ५ चौका प्रहार गरे । मिलन बोहरा १० रनमा रनआउट भए । सुवास भण्डारीले २ रनमात्र बनाउन सके ।

हेमन्त धामीले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए । दीपेश कँडेल आउट हुने अन्तिम खेलाडी थिए । उनले ३३ बल खेल्दै १५ रन बनाए ।

ध्रुव परासरले यूएईबाट ३ विकेट लिए । उनले ६.५ ओभरमा १ मेडन राख्दै १८ रन खर्चे । हरिश शेट्टी, र कप्तान आयान खानले २–२ विकेट लिए । आयानले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *