बुद्ध एयरले पोखरा-भद्रपुर नियमित उडान गर्ने

काठमाडौं । बुद्ध एयरले पोखराबाट झापाको भद्रपुर उडान नियमित गर्ने भएको छ । पोखरालाई केन्द्रमा राखेर प्रादेशिक उडान विस्तार गर्ने क्रममा भद्रपुरमा उडान तालिका सार्वजनिक गरेको हो ।
पोखराबाट भद्रपुरको उडान समय बिहान ६ः१५ तथा भद्रपुरबाट पोखराको उडान समय १८ः५५ तोकिएको छ ।
फागुन २५ गतेदेखि पोखराबाट भद्रपुर दैनिक सिधा उडान हुने बुद्ध एयरले जनाएको छ । उडान अवधि करिब एक घण्टाको हुने जनाइएको छ ।
प्रारम्भिक रुपमा उक्त रुटको भाडादर ७ हजार ५०० रुपैयाँ तोकिएको छ ।
पोखराबाट सोझै भद्रपुर उडान हुँदा दुवै क्षेत्रबाट आउजाउ गर्ने पर्यटकहरुलाई सहजता हुने भएको छ । व्यापारिकलगायत अन्य प्रयोजनका लागि यात्रा गर्नेहरुका लागि पनि उक्त रुट अब उपयोगी हुने भएको छ ।
सिधा उडानबाट भद्रपुरनजिक रहेका भारतीय शहरहरु सिक्किम तथा पश्चिम बंगालका दार्जिलिङ, सिलिगुढी तथा विभिन्न शहरका पर्यटकहरुलाई पोखरा आउजाउ गर्न सजिलो हुने बुद्ध एयरको भनाइ छ ।
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेजसमेत सार्वजनिक गरेको छ ।