अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चियाले पायो गोल्डन अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट मानिएको छ । गुणस्तरयुक्त नेपाली चियाले उत्कृष्ट बन्दै चीनमा स्वर्ण, रजत र सिल्भर अवार्ड जितेको छ ।

‘चाइना टि मार्केटिङ एसोसिएसन’ ले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिस्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड जितेका हुन् ।

तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन अवार्ड पाएको हो ।

फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफ्टी हिमालयन गोल्डेन, साग्रिला गोल्डेन, जीटीई–गोल्डेन चिया, सिल्भर वीङ्गस, गोल्डेन टिप्स चियाले गोल्डेन मेडल अवार्ड पाएको बोर्डले जनाएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहिवार पत्रकार सम्मेलन गरी यो जानकारी गराएको हो ।

नेपालमा उत्पादित १६ वटा चियाको नमुना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपालको चियाको चिनियाँ बजार राम्रो रहेको बताए ।

चीनमा नेपाली चियाको अनलाइन विज्ञापन सुरु भइसकेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय बजार बिस्तारका लागि काम भइरहेको बताए ।

अवार्ड विजेता भएसँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको र आर्थिक उन्नतिका लागि महत्त्वपूर्ण मानिने भन्दै उनले अब बजार बिस्तारमा सहयोग पुग्ने बताए ।

गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको छ ।

विदेशको बजारमा रासायनिक मल र विषादी प्रयोग नगरिएका चिया लोकप्रिय छ । समुद्रपार मुलुकका पारखीहरु अर्ग्यानिक चिया मन पराउँछन् ।

विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलङ्काजस्ता देशहरूसँग नेपाली चियाको प्रतिस्पर्धा गराइएको थियो ।

आर्थिक वर्ष २०७७र७८ को तथ्याङ्कअनुसार नेपालमा १६ हजार ९ सय १७ हेक्टर क्षेत्रमा चिया खेती भएकामा २३ हजार ७ सय ४५ मेट्रिक टन उत्पादन भइरहेको छ ।

नेपालमा १७ हजार चिया किसान र ६० हजारभन्दा बढी श्रमिक आबद्ध रहेका बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७७र७८ मा ३ खर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११ हजार ९ सय २० मेट्रिक टन चिया निर्यात भएको बोर्डको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *