कांग्रेस र एमालेद्वारा प्रदेश १ को नाम ‘कोशी’ राख्न संसदमा प्रस्ताव

विराटनगर । प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले संयुक्त रूपमा प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

उक्त प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक छन् । प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका हुन् ।

प्रस्तावमा भनिएको छ–

‘प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्नै दायित्व पुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको छ ।’

प्रदेश नामकरणका लागि एकजना प्रदेश सांसदको प्रस्तावमा दुईजना सांसदले समर्थन गरेको प्रस्ताव प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीसमक्ष दर्ता गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ ।

सभामुख गौतमले दिउँसो १ बजेसम्मका लागि नामकरण प्रस्ताव सचिवालयमा दर्ता गराउन प्रदेश सांसदलाई समय दिएका हुन् । प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुले नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम नामकरण प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रदेश नामकरणका लागि ६३ सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एकजना सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *