भारतबाट ल्याइएको डिजलमा मिसावट पाइएपछि अनुसन्धान

झापा । भारतको सिलिगुढीमा रहेको इन्डियन आयल कर्पोरेशनबाट झापा ल्याइएको चार ट्यांकर डिजलमा मिसावट भएको पाइएको छ ।

डिजलमा मिसावट भएको भेटिएपछि नेपाल आयल निगमले छानबिन सुरु गरेको छ । निगमले गठन गरेको टोलीले आइतबारदेखि छानबिन सुरु गरेको हो ।

छानबिन टोलीले झापाको मेचीनगर–१३ चारआलीमा रहेको आयल निगमको शाखा कार्यालयका कर्मचारी र पेट्रोलियम व्यवसायीसँग सोधपुछ गरेर अनुसन्धान अघि बढाएको हो ।

निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते भारतको सिलिगुढीबाट चारवटा ट्यांकरमा डिजल ल्याइएको थियो । चार ट्यांकरमा रहेको ८० हजार लिटर डिजलमा मिसावट भएको पाइएको छ । डिजलमा मट्टितेल मिसाइएको अनुमान गरिएको छ ।

नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १–०१–००–१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सका नाममा रहेको मे १ ख २१५१, उत्तरगङ्गा यातायात प्रालिका नाममा रहेको ना ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सका नाममा रहेको ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याइएको डिजलको गुणस्तर जाँच्दा मिसावट भेटिएको आयल निगमले जनाएको छ  ।

निगमको केन्द्रीय कार्यालयकी प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समिति सदस्यमा निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य छन् ।

नेपालमा भन्दा भारतमा मट्टितेलको मूल्य सस्तो भएकाले डिजलमा मिसाउने गरिएको छ ।

चारआलीमा रहेको निगमको कार्यालयले नवदुर्गा आयल स्टोर्सको ट्यांकरमा आएको डिजलको घनत्व आठ सय १३ किलो प्रतिघनमिटर मापन गरेको थियो । भारतको सिलिगुढीमा लोड गर्दा भने ८२९ किलो प्रतिघनमिटर मापन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *