एमबीबीएस/बीडीएस लाइसेन्स परीक्षा पास नभए वैकल्पिक विषय

काठमाडौं । एमबीबीएस र बीडीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा धेरैपटक असफल भएका विद्यार्थीले वैकल्पिक विषयमा थप अध्ययन गर्न पाउने भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले त्यस्ता विद्यार्थीका लागि अरु विषयमा थप अध्ययन गर्न पाउने विकल्प दिने भएको हो ।

काउन्सिलले चिकित्सा शिक्षा पढाउने विश्वविद्यालय र मेडिकल कलेजसँग यस विषयमा छलफल गरिसकेको जनाएको छ ।

चिकित्साशास्त्रको एमबीबीएस र बीडीएस उतीर्ण सबैले सम्बन्धित थप विषय अध्ययनका लागि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गर्नुपर्छ ।

चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा यो वर्ष ५ हजार ६ सय परीक्षार्थीमा ५६ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

हरेक वर्ष एमबीबीएस र बीडीएस लाइसेन्स परीक्षामा करिब ५० प्रतिशत फेल हुने गरेका छन् ।

मेडिकल काउन्सिलले त्यस्ता विद्यार्थीको वृत्ति विकास नरोकियोस् भनेर वैकल्पिक विषयमा थप अध्ययन गर्न दिने तयारी गरेको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता नहुने विषय अथवा बिरामी नजाँचिने विषयमा त्यस्ता विद्यार्थीलाई पढ्न दिने तयारी भइरहेको उनको भनाइ छ ।

लाखौं रुपैयाँ खर्च गरेर अध्ययन गरेपछि लाइसेन्स परीक्षामा असफल हुँदा विद्यार्थीको लगानी डुब्ने अवस्था हुन्छ । भविष्य पनि अनिश्चित बन्छ ।

लाइसेन्स परीक्षामा असफल भएकाहरुलाई क्लिनिकल बाहेकका अरु विषय अध्ययन गर्न दिनुपर्ने आवाज उठ्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *