बालेनले किन लेखे, ‘यो देश कहिले पनि बन्दैन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई राजीनामाको दबाब आएको जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् शनिबार उनले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको भन्दै ‘यो देश नबनिने’ उल्लेख गरेका छन् ।
उनले कसले र के कारणले राजीनामा दिन दबाब दिएको भन्नेबारेमा भने केही खुलाएका छैनन् ।
‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन’ उनले फेसबुकमा लेखेका छन् ।
उनको उक्त भनाइप्रति धेरैले प्रतिक्रिया व्यक्त गरिरहेका छन् । उनका प्रशंसकहरुले कसैको दबाब र प्रभावमा नपरी आफ्नो काम इमान्दारीसाथ गर्न आग्रह गरेका छन् ।
कतिपयले भने सुधारका काम निरन्तर गर्न भन्दै तर नियम र विधि पुर्याएर अघि बढ्न सुझाव पनि दिएका छन् ।
उनले काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालेको ११ महिना भएको छ । त्यसयता उनको कामका प्रशंसा र आलोचना दुवै भइरहेको छ ।
काठमाडौं महानगरपालिकाको प्रमुख निर्वाचित भएपछि उनले जेठ १६ गते शपथ लिएर त्यसै दिन कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरेका थिए ।
त्यस बेला र महानगरपालिकाको काम पारदर्शी बनाउने बताएका थिए । कार्यकालको ११ महिनासम्म आइपुग्दा उनको कार्यशैली पहिलेका नेताभन्दा फरक नरहेको भन्दै आलोचना हुने गरेको छ ।
कतिपयले भने उनले सुधारका काम गर्न खोजे पनि दलीय प्रभावका कारण स्वतन्त्र रुपमा काम गर्न नदिइएको पनि भनेका छन् ।
समर्थकहरुले निडर भएर विधिसम्मत् काम गर्नु भनेर पटक पटक आग्रह गरेपछि उनले त्यस्तो लेखेको ६ घण्टापछि फेरि लेखेका छन्–
‘अटल, अजर, अडिग,
निडर ।
कसैले नि सक्दैन ।
आइ डन्ट गिभ अप ।’