होमस्टे सञ्चालकहरुलाई पाहुना सत्कारबारे प्रशिक्षण

सुनसरी । कोसीटप्पु वन्यजन्तु आरक्ष नजिक रहेको सप्तकोसी होमस्टे (घरबास) का सञ्चालकहरुलाई विराटनगर १४ स्थित एस्पायर कलेजका विद्यार्थीले पाहुना स्वागतसम्बन्धी जानकारीमूलक प्रशिक्षण दिएका छन् ।

उक्त कलेजको बीपीएच (ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण दिएका हुन् ।

होमस्टे कस्तो हुनुपर्छ, पाहुनालाई कसरी स्वागत गर्ने, सफाइका तरिका, शान्त र मनोरम वातावरण बाकसरी बनाउने, होमस्टेमा आएका पाहुना फेरि पनि आउने वातावरण कसरी बनाउने भन्ने जानकारी उनीहरुले दिएका थिए ।

एक दर्जन होमस्टे स्ञ्चालनमा रहेको उक्त पर्यटकीय क्षेत्र सुनसरीको प्रकाशपुरमा पर्छ ।

प्रशिक्षण दिने बिद्यार्थीहरुमा होटल म्यानेजमेन्टमा अध्यनरत सुलभ निरौला, लिजा खतिवडा, समीर लावती र लिया खवास थिए ।

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर शुभम भट्टराईका अनुसार विद्यार्थीहरुलाई समय समयमा यस्ता कार्यक्रमहरुमा सहभागी गराउने गरिएको छ ।

पढाइसँगै सिकाइलाई समेत विशेष ध्यान दिने भएकाले यस्ता कार्यक्रमहरुलाई कलेजले प्राथमिकतामा राखेको उनले बताए ।

एस्पायर कलेजका प्रिन्सिपल सिएम बस्नेतको नेतृत्वमा गएको टोलीले होमस्टे सञ्चालकहरुलाई सहजीकरण गरेको थियो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेनेजमेण्टमा एमबीए अध्ययनरत विद्यार्थीहरू निसान्त तिमल्सिना, आदित्य आचार्य, जेसिका राजलवट, अस्मिता सुवेदी र संगीता भूर्तेलले होमस्टे कसरी व्यस्थापन गर्ने, लेखा कसरी राख्ने तथा बजारीकरण कसरी गर्ने भन्नेबारे जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *