राष्ट्रपतिका लागि रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन् । संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले मनोनयन दर्ता गरेका हुन् ।
पौडेलसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, जनमत पार्टीका अब्दुल खानलगायतका नेताहरु पुगेका थिए ।
पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान छन् । समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन् ।
शुक्रबार राति ८ दलीय बैठकले कांग्रेसबाट पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति गरेको थियो ।
आठ दलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।
यसअघि एमालेका सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।