नेपालद्वारा ९६ रनले सिंगापुर पराजित

काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको पहिलो खेलमा शुक्रबार सिंगापुरलाई ९६ रनले पराजित गरेको छ ।
यूएईको अजमानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको थियो ।
जवाफमा आएको सिंगापुरले इडेन गार्डेन ओभल मैदानमा ७ विकेट गुमाई १ सय ६५ रनमात्र बनाउन सक्यो ।
नेपाली बलिङसामु निकै दबिएर खेलेको सिंगापुरबाट आर्यन मोदीले सर्वाधिक ५८ रन बनाए । त्यसका लागि उनले १ सय बल खेली २ चौका प्रहार गरे ।
सिद्धान्त श्रीकान्तले ८० बल खेली १ चौका र १ छक्कासहित ४४ रन बनाए । नेपालका हेमन्त धामी र सुवास भण्डारीले २–२ विकेट लिए ।
हेमन्तले ८ ओभरमा २७ र सुवासले १० ओभरमा १ मेडन राख्दै २९ रन खर्चे । विशालविक्रम केसीले १ विकेट लिए ।
यसअघि आकाश त्रिपाठी र विशालविक्रम केसीले अर्धशतक बनाएपछि नेपालले मजबुत स्कोर बनाएको थियो । आकाशले १ सय बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी ७८ रन बनाए । उनी ३४ औं ओभरमा आउट भएका थिए, जतिखेर नेपालको स्कोर १ सय ४५ रन थियो ।
दीपक बोहरा ‘ए’ ५ रनमा आउट भएपछि आकाशले अर्जुन कुमालसँग दोस्रो विकेटमा ९३ रनको साझेदारी गरे । अर्जुनले ६७ बल खेल्दै ३ चौकासहित ३७ रन बनाए ।
कप्तान देव खनालले २१ रन बनाए । उनले २६ बल खेली १ चौका प्रहार गरे ।
नेपालले शनिबार कुवेतसँग दोस्रो खेल खेल्ने छ ।