चुहानडाँडामा १४ घर जले, पाँचथरमा जलेर २ बालकको मृत्यु

पाँचथर । घरमा आगलागी हुँदा पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपामा दुईजना बालकको शुक्रबार दिउँसो जलेर मृत्यु भएको छ ।

स्थानीय शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा भएको आगलागीमा उनीहरुको ज्यान गएको हो । खाती सोही घरमा बस्दै आएका थिए । छिमेकी शरण पन्थाकका छोरा सेसेहाङ उनीसँग खेल्न उक्त घरमा आएका थिए ।

अभिभावक काममा गएका बेला घरमा आगलागी भएको थियो । आगाले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । कसरी आगलागी भयो भन्ने खुलेको छैन ।

उता, तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हात्तीखर्कमा आगलागीबाट १४ घर जेलेर नष्ट भएका छन् ।

चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णुप्रसाद पिठाकोटेका अनुसार ९ वटा घरमा मानिस बसोवास गर्ने गरेको र बाँकी ५ घरमा भने खाली थिए ।

गाउँभन्दा तल रहेको फक्चुवा खोला दोभानको जंगलबाट सल्किएको आगो माझीटार सामुदायिक वनसम्म आइपुगेको थियो ।

आगो बस्तीसम्म आएपछि घरमा आगलागी सुरु भएको थियो । प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने प्रयास गरिरहेको वडाअध्यक्ष कृष्ण बास्कोटाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *