सर्वोच्च अदालतद्वारा सन्दिपलाई विदेश जाने अनुमति दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिन अस्वीकार गरेको छ । अदालतले उनीमाथिको विदेश यात्रा प्रतिबन्ध यथावत् रहने आदेश दिएको छ ।
यूएईमा आगामी सोमबारदेखि सुरु हुने विश्वकप लिग टु अन्तर्गतको श्रृंखलाका लागि खेल्न जान पाउँ भनी बिहीबार सन्दीपले रिट दायर गरेका थिए ।
रिट निवेदनमा सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विदेश जाने अनुमति दिन अस्वीकार गरेको हो ।
लामिछानको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश खतिवडाको इजलासले महान्यायाधिवक्ता र लामिछानेको निवेदन एकसाथ आगामी आइतबार पेशी तोक्न आदेश दिएको छ ।
यसअघि उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिँदा विदेश जान रोक लगाएको थियो ।
नाबालिग बलात्कार आरोपमा पुर्पक्ष थुनामा रहेका उनलाई गत पुस २८ गते उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उक्त आदेशमा उनलाई विदेश जान रोक लगाइएको थियो । धरौटीमा रिहा भएका सन्दीपले अदालतको उक्त सर्त हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।
धरौटीमा थुनामुक्त भएका उनले फागुन २ देखि ९ गतेसम्म काठमाडौंमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट ‘लिग टु’ मा सहभागिता जनाएका थिए ।
नामिबिया, स्कटल्यान्ड र नेपालबीचको उक्त त्रिकोणात्मक प्रतियोगितामा नेपालले चारैवटा खेलमा जित निकाल्दै सिरिज क्लिन स्वीप गरेको थियो ।
उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले राष्ट्रिय टिममा सानदार पुनरागमन गरेका थिए ।
सोही प्रतियोगिताअन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिज खेल्न जान नपाउने भएपछि सन्दीप सर्वोच्च गएका थिए ।
नेपालले आठौं श्रृंखलामा यूएई र पपुवा न्यु गिनीसँग दुई(दुई खेल खेल्दैछ । त्यसका लागि नेपाली टोली शनिबार दुबई जाँदैछ ।
यता, सन्दीपलाई उच्च अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध सरकारले पुनरावेदन गरेको छ । उक्त मुद्दाको पेशी भने आज ‘हेर्न नभ्याइने’ मा परेको छ ।
यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो ।