राष्ट्रपतिको उम्मेदवार चयन गर्न ‘निर्णायक छलफल’ गर्दै नेताहरू

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार तय गर्नका लागि मुख्य दलहरुले अन्तिम कसरत गरिरहेका छन् । यसका लागि आज शुक्रबार शीर्ष नेताहरुबीच भेटवार्ता हुने भएको छ ।

यसअघि बुधबार दिनभर भएको छलफलमा सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेतासँग पनि छलफल गरेका थिए ।

सिंहदरबारस्थित मा‌ओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई घण्टा चलेको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेता सहभागी थिए ।

बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीति घटना क्रमबारे छलफल भएको नेताहरुले बताएका छन् ।

बैठकपछि प्रधानमन्त्री दाहालले राष्ट्रपतिको उम्मेदवारमा सहमति जुटिनसकेको प्रतिक्रिया दिए ।

शुक्रबार कांग्रेससहितको बैठक बसेर थप छलफल गर्ने प्रधानमन्त्री दाहालले बताएका छन् ।

राष्ट्रपतिको उम्मेदवारीका विषयमा शुक्रबारै एमाले अध्यक्ष केपी शर्मासँग पनि अन्तिम छलफल हुने प्रधानमन्त्री दाहालले जानकारी दिए ।

नेताहरूले पनि राष्ट्रपतिको उम्मेदवारबारे साझा सहमति जुटाउने प्रयास भइरहेको बताएका छन् ।

यसअघि प्रधानमन्त्री दाहालले जसपा र समाजवादीका नेताहरूसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

प्रधानमन्त्री दाहालले सहमतिबाटै राष्ट्रपति चयन गर्नुपर्ने भन्दै दलहरूसँगको छलफललाई बढाएका हुन् ।

चौथो कार्यकालका लागि मुलुकको तेस्रो राष्ट्रपति चयन गर्न फागुन २५ गते निर्वाचन हुँदैछ । राष्ट्रपति चुनावका लागि प्रतिनिधि सभाका २७३, राष्ट्रिय सभाका ५९ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।

सङ्घीय संसद्तर्फ एक मतदाताको मतभार ७९ र प्रदेश सभातर्फ ४८ मतभार हुन्छ । निर्वाचन कार्यतालिकाअनुसार भोलि शनिवार राष्ट्रपतिको उम्मेदवारी दर्ता हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *