क्यानाडामा एउटा पार्कको नाम ‘सगरमाथा’ राखिने

काठमाडौं । नेपाली समुदायको पहिचान र सम्मानमा क्यानाडाको अन्टारियो प्रान्तस्थित ब्राम्पटन नगरको एउटा पार्कको नाम ‘सगरमाथा’ राखिने भएको छ ।
उक्त नगरको नगर सभा (सिटी काउन्सिल) को बैठकमा त्यहाँका मेयर प्याट्रिक ब्राउनले प्रस्ताव गरेको ‘सगरमाथा’ नाम सर्वसम्मत रुपमा पारित भएको क्यानाडाबाट प्रकाशन हुने ‘नेपालटच’ ले उल्लेख गरेको छ ।
नेपाली र दक्षिण एसियालीहरुको उल्लेख्य बसोबास रहेको उक्त नगरको वडा नम्बर ३ वा ४ मा रहेका कुनै एउटा पार्कको नाम ‘सगरमाथा पार्क’ राखिने जनाइएको छ।
क्यानाडामा पार्क र सडकलगायत संरचनाको नाम अन्य समुदायको पहिचान झल्कने रहे पनि नेपालीको पहिचान झल्किने नाम यो पहिलोपटक राख्न लागिएको हो ।
मेयर ब्राउनकाअनुसार यो काम आगामी वर्षायामसम्ममा सम्पन्न हुनेछ।
स पार्कमा बालबालिकाहरुका लागि सुहाउने रक क्लाइम्बिङ गर्ने उपकरण राख्ने, सगरमाथाको परिचय झल्कने बोर्ड र प्रथम सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको प्रतिमा समेत राख्न प्रस्ताव गरिएको छ ।