आईसीसी यु-१९ विश्वकप छनोटमा सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटको खेल शुक्रवार यूएईमा सुरु हुँदैछ । नेपालले आज सिङ्गापुरसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे इडेन गार्डेन्समा सुरु हुनेछ ।
लिगको आधारमा हुने प्रतियोगितामा नेपाल, सिङ्गापुर, मलेसिया, हङकङ, कुवेत र यूएई सहभागी छन् । शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकप खेल्न पाउनेछ ।
नेपालले सन् २०१६ मा यो विश्व कप खेलेको थियो । नेपाल सन् २०१८ को १९ वर्षमुनिको विश्वकप छनोटमा अफगानिस्तानसँग पराजित भएको थियो ।
सन् २०१९ को एसिया क्षेत्र छनोटमा यूएईसँग डकवर्थ लुइस पद्धतिको आधारमा नेपाल १ रनले पराजित भएको थियो ।
नेपाली टोलीको कप्तानी देव खनालले गर्दैछन् । नेपाली टोलीले भोलि शनिवार कुवेतसँग, फागुन १५ गते हङकङसँग, १६ गते मलेसियासँग र अन्तिम खेल फागुन १८ गते यूएईसँग खेल्नेछ ।