प्रियंका हत्या प्रकरण : परिवारबाटै असुरक्षित

विराटनगर । श्रीमान् श्रीमती भनेको जीवनभर साथ दिने सम्बन्ध मानिन्छ । दुःख र सुख दुवै अवस्थामा एकअर्काको भरथेग गर्ने यस्तो विशिष्ट सम्बन्धमा बाँधिएकाहरुले सँगै बाँच्ने अनि सँगै मर्ने वाचा पनि गरेका हुन्छन् । तर सबैको यस्तो हुँदो रहेनछ । विराटनगरको एउटा घटना यसको उदाहरण बनेको छ ।

परपुरुषसँगको सम्बन्ध रहेको शंकाकै भरमा आफ्नै श्रीमानको योजनाअनुसार विराटनगर महानगरपालिका १९ मिलनचोककी २८ वर्षीया प्रियंका सुनारले ज्यान गुमाउनु परेको छ ।

प्रियंका २९ वर्षीय श्रीमान रमेश साहसँग मिलनचोकमा बस्दै आएकी थिइन् । रमेश सोही स्थानमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका व्यवसायी हुन् । व्यवसाय राम्रै चलेको थियो । १० वर्षअघि विवाह बन्धनमा बाँधिएका उनीहरुका ७ र ८ वर्षीय नाबालक छोराछोरी छन् । प्रियंकाको माइती घर भारतमा छ ।

छरछिमेक र आफन्तका अनुसार उनीहरुबीच झैझगडा र बेमेल थिएन । हाँसीखुसी जीवन गुजारा गरिरहेको देखिन्थ्यो । आफन्तहरुले श्रीमान् श्रीमतीबीच सामान्य रुपमा हुने सानातिना विवाद बाहेक उनीहरुबीच गम्भीर किसिमको मतभेद रहेको आफूहरुले थाहा नपाएको बताएका छन् ।

यस्तो हुँदाहुँदै पनि आइतबार भने सोच्दै नसोचेको घटना भयो । रमेशले घुम्न र धामीकोमा झारफुक गर्न भन्दै पत्नी प्रियंकालाई मोटसाइकलमा हालेर आइतबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका २ अमाही इक्राही पुर्याए । त्यहाँ रहेको नरसिंह चौधरीको घरमा पुर्याए । त्यहीँ उनको हत्या भयो ।

घाँटीमा डोरीले पासो कसेर अनि कुटपिट समेत गरी हत्या गरेपछि प्रियंकाको शव बोरामा हालेर चौधरीको घरको ग्वालीमा लुकाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार योजनावद्ध रुपमा हत्या गराइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

साहले प्रियंकालाई घटनास्थल लिएर पुग्नु अघि नै दुईजना युवा चौधरीको घरमा पुगिसकेको देखिन्छ । प्रियंकालाई त्यहाँ रहेका दुईजनासँर्ग छोडेर पु¥याउन जाने र घरधनी समेत बाहिर निस्केको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार उनीहरु हिडेपछि दुईजनाले हत्या गरेर बोरामा पोको पारेर ग्वालीमा राखेर हिँडेका थिए ।

रमेशले दुई हप्ता अगाडि नै हत्याका मुख्य सहयोगीसँग त्यसबारे योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रियंकाको हत्या गर्न रमेशले मुख्य सहयोगी कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रमानन्द रामलाई २५ हजार रुपैयाँ दिएर हत्यापछि शव व्यवस्थापन कसरी गर्नेसम्मको योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

हत्या गरेपछि शव सुनसरीको चतराको जंगलमा लगेर फाल्ने योजना रमेश र रमानन्दले बनाएका थिए । योजनाअनुसार रमानन्दले थप दुईजना सहयोगी लिएको अनुसन्धानबाट खुलेको छ ।

२५ हजार लिएपछि शव व्यवस्थापनको लागि रमानन्दले मारुती भ्यान धनी कटहरी ५ का ३५ वर्षीय उमेश सरदारलाई र विराटनगर ७ का ५३ वर्षीय श्रीराम चौधरीलाई साथ लिए । रमानन्दले मारुती भ्यानका धनी उमेशलाई २ हजार रुपैयाँ इन्धन हाल्नका लागि दिएका थिए ।

उनीहरुले शव चतराको जंगलमा नभए सप्तकोशी नदीमा फाल्ने योजना बनाएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् । प्रियंकाको हत्या गरेपछि बोरामा हालेको बोकेर जान उमेशले इन्कार गर्छन् ।

त्यसपछि एम्बुलेन्स खोज्न भन्दै रमानन्द कोशी अस्पतालमा आइतबार राती ११ बजे पुग्छन् । एम्बुलेन्स चालकहरुले शव पोस्र्टमार्टम भए, नभएको सोध्छन् । रमानन्दले शव अस्पतालमा होइन अन्तै भएको बताएपछि शंका लागेर एम्बुलेन्स चालकहरुले प्रहरीमा खबर गर्छन् ।

त्यसपछि रमानन्द पक्राउ पर्छन् । उनैबाट हत्या घटना खुलासा हुन्छ । उनलाई लिएर प्रहरीको टोली घटनास्थल पुगेर शव बरामद गरिएको थियो । घटनास्थलमा फेला परेका प्रमाणहरु पनि संकलन गरिएको थियो ।

विराटनगरस्थित कोसी अस्पतालको शव गृहमा राखिएको प्रियंकाको शव पोस्टमार्ट गरिएपछि बुधबार मात्र परिवारको जिम्मा लगाइएको थियो । त्यसपछि परिवारले शवको अन्तिम संस्कार गरेका थिए ।

विराटनगरको सिंघिया खोलाकिनार रहेको घाटमा दाहसंस्कार गर्दा उल्लेख्य संख्यामा गाउँलेहरुको उपस्थिति थियो । शोकाकूल गाउँले र परिवार अनि आफन्तले एउटा दुर्दान्त घटनामा असयमै ज्यान गुमाउन पुगेकी प्रियंकालाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

घटनामा संलग्न भनिएका चारजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

मोरङको कटहरी गाउँपालिका ५ का ३५ वर्षीय उमेश सरदार, ६२ वर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका ७ का ५३ वर्षीय श्रीराम चौधरी र प्रियंकाका श्रीमान् २९ वर्षीय रमेश साहलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाउने प्रहरीको तयारी छ ।

प्रहरीका अनुसार हालसम्मको अनुसन्धानमा प्रियंका सुनारको केही दोष देखिंदैन । उनका पति रमेश साहलाई लाग्यो, उनी अरु कसैसित सम्बन्धमा छिन् । यही शंकाको कारणले पतिले उनको हत्या गर्ने योजना बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *