आर्मी पुग्यो सेमिफाइनल

भद्रपुर । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिवार मेची रंगशालामा भएको खेलमा पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक-एक गोल गरे । खेलको तेस्रो मिनेटमै आर्मीले पाहुन टोली भुटानविरुद्ध गोल गर्यो। । पेनाल्टी एरिया नजिकै आर्मीले पाएको फ्रिकिकको सदुपयोग गर्दै तेस्रो मिनेटमा जितेन्द्र कार्कीले गोल गरे । उनले फ्रिकिकबाट सिधै जाली चुमाएका हुन् ।

यस्तै, खेलको ६४ औँ मिनेटमा आर्मीका सुशान्त चौधरीले अर्को गोल थपे । बारमा ठोक्किएर फर्किएको बललाई पेनाल्टी एरियामा रहेका चौधरीले गोल गरेका थिए ।

सुरुवातमै गोल खाएपछि दबाबमा रहेको भुटान पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो। । खेलमा भुटानको डिफेन्स लाइन निकै कमजोर देखिन्थ्यो ।

आर्मीले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

बिहिवारको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

शुक्रबारको खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।

उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *