क्रिकेट सिरिज विजेता खेलाडीलाई सरकारले जनही २ लाखसहित पुरस्कृत गर्ने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही दुई लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक सिरिज जितेका सबै नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरुप जनही दुई लाख रुपैयाँ दिने प्रधानमन्त्रीले घोषणा गरे ।
त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले चारवटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो ।
नेपालले लिग २ को त्रिकोणात्मक शृंखलामा नेपाल पहिलोपटक क्लिन स्विप गरेको हो ।
नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै नेपालले लगातार चार खेलमा जित निकालेको पनि पहिलोपटक हो ।
त्रिवि मैदानमा सम्पन्न शृंखलाअन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्यान्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । स्कटल्यान्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो ।
छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको भन्दै प्रधानमन्त्री दाहालले यो सिंगो राष्ट्र र नेपाली जनताको लागि पनि गौरवको कुरा भएको बताए ।
नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिगटुअन्तर्गत अर्को साता यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि यूएई जाँदै छ ।
यसैबीच, नेपाल क्रिकेट संघ (क्यान) ले आज बिहिवार यूएई भ्रमणमा जाने टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ ।
टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ ।
नेपालले फागुन १५ मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुवात गर्नेछ । फागुन १८ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ ।
फागुन १९ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा फागुन २२ मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
यूएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ सेख, प्रतिश जीसी र श्याम (मौसम) ढकाल छन् ।