आजदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान

काठमाडौं । हात्तीपाइले रोगविरुद्ध आज बिहिवारदेखि फागुन २५ गतेसम्म देशभरका १५ जिल्लामा औषधि खुवाउने अभियान सुरु हुँदैछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सञ्चालन हुनेछ ।

महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार लक्षण नदेखिकाहरुमा पनि हात्तीपाइले रोग लागेको हुन सक्ने भएकाले अभियान चलाइएको बेलामा औषधि खानु उपयुक्त हुन्छ ।

हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको नहुने भएकाले रोग लाग्नु अगावै औषधि खान चिकित्सकले सुझाव दिने गरेका छन् ।

हात्तीपाइले रोग विरुद्धको औषधि ६ वर्षसम्म लगातार वर्षमा एकपटक गरी ६ पटकसम्म खानु पर्छ ।

औषधि खाँदा केही व्यक्तिलाई ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान महाशाखाले सुझाव दिएको छ ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने जनाइएको छ ।

हात्तीपाइले मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

सरकारले ४८ जिल्लामा भने हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान बन्द गरेको छ । हिमाली ८ जिल्ला सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला कालीकोट, मुगुमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन अभियान सञ्चालन गर्न आवश्यक भए, नभएको बारे अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *