बैंकबाट ऋण लिएकाहरुले लघुवित्तबाट लिन नपाउने

काठमाडौं । लघुवित्त संस्थाहरुले राष्ट्र बैंकले धितो नभएका साना ऋणीलाई प्राथकिता दिनुपर्ने व्यवस्था गरेको छ ।
त्यसका लागि वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीले लघुवित्त संस्थाहरुबाट ऋण नपाउने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेर यस्तो व्यवस्था गरेको हो । यस्तो व्यवस्था गरिनुअघि बैंकहरुबाट ऋण लिएकाहरुले पनि लघुवित्त संस्थाबाट ऋण लिन पाउने व्यवस्था थियो ।
‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य नहुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए, नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिएरनलिएको यकीन गर्नु पर्नेछ ।’
यसअघि दिइएको ऋणको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न राष्ट्र बैंकले सुविधा दिएको छ ।
साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमाभन्दा बढी प्रवाह भएको कर्जा रकममा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने निर्देशन राष्ट्र बैंकले जारी गरेको छ ।