७ महिनामा नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्बभन्दा बढी

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को सात महिनामा नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ ।

भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ ।

त्यस अवधिमा नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

निर्यात भने ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै भएको तथ्यांक भन्सारको छ ।

उक्त अवधिमा नेपालले गरेको वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ ।

गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बराबर भन्सार राजस्व उठेको विभागले जनाएको छ ।

२०७८/७९ को सात महिनाको अवधिमा नेपालले गरेको वैदेशिक व्यापारको तुलनामा यस वर्षको त्यही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको पाइएको छ ।

गत आर्थिक वर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ । यसैगरी निर्यात २९ प्रतिशतले घटेको छ ।

माघ मसान्तसम्ममा नेपालले भारतबाट पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख रुपैयाँ बराबरको सामान आयात गरेको तथ्यांक छ । सोही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने ६६ अर्ब २२ करोड ६५ लाख रुपैयाँ बराबरमात्रै छ ।

सात महिनाको अवधिमा चीनबाट एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको छ भने ४२ करोड २६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

उक्त अवधिमा इन्डोनेसियाबाट ५७ अर्ब नौ करोड ६९ लाख रुपैयाँ बराबरको आयात भएको छ भने १० करोड ३६ लाख रुपैयाँ बराबरमात्रै निर्यात भएको छ ।

त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) बाट २० अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको सामान आयात तथा २५ करोड ८९ लाख रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

यसैगरी अर्जेन्टिनामा १८ अर्ब ५६ करोड रुपैयाँ बराबरको आयात र १० लाख २० हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

उक्त अवधिमा नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात गरेको छ । ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको डिजल, ३८ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको पेट्रोल र ३३ अर्ब ३४ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको तथ्यांक छ ।

सोही अवधिमा नेपालले २६ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ ।

भन्सार विभागका अनुसार २३ अर्ब ६६ करोड रुपैयाँ बराबरको फलाम, १८ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ बराबरका सुनजन्य वस्तु, १७ अर्ब ७६ करोड रुपैयाँ बराबरको अप्रशोधित पाम आयल र १४ अर्ब ७६ करोड ८३ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।

सात महिनामा नेपालबाट १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको छ ।

त्यस्तै सोयाबिन तेल आठ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

विभागका अनुसार चार अर्ब ८९ करोड रुपैयाँ बराबरको अलैँची र दुई अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।

वीरगञ्ज भन्सारबाट सात महिना अवधिमा तीन अर्ब ४३ करोड ६३ लाख ४३ हजार रुपैयाा बराबरको सामान आयात भएको छ भने २३ अर्ब २८ करोड ४० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

नेपालले यो अवधिमा गरेको वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा छ ।

भैरहवा भन्सारबाट एक खर्ब ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ बराबरको आयात र पाँच अर्ब ४२ करोड ७० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

विराटनगर भन्सारबाट एक अर्ब छ करोड ९० लाख १९ हजार रुपैयाँ बराबरको आयात हुँदा २५ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *