डा. सन्दुक रुइतलाई १४ करोड रुपैयाँको प्रतिष्ठित ‘इशा अवार्ड’

काठमाडौं । नेपाली नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बहराइनले प्रतिष्ठित ‘इशा अवार्ड’ बाट सम्मानित गरेको छ । लामो समयदेखि मानवताका लागि सेवा गरेबापत उनलाई बहराइन सरकारका तर्फबाट इशा अल अवार्ड प्रदान गरिएको हो ।

बहराइनको राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा मंंगलबार आयोजित कार्यक्रममा राजा हमाद बिन इशा अल खालिफाले डा. रुइतलाई १ मिलियन डलर राशि (करिब १४ करोड रुपैयाँ) को पुरस्कार प्रदान गरेका हुन् ।

सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो ।

डा. रुइतले हालसम्म एक लाख २५ हजार भन्दा धेरै व्यक्तिको आँखाको शल्यक्रिया गरिसकेका छन् । उनले ७० भन्दा बढी देशमा सेवा दिएका छन् ।

इशा अवार्ड पहिलोपटक मलेशियाकी प्रतिष्ठित चिकित्सक जेमिला महमुदले २०१३ मा पाएकी थिइन् ।

दोस्रो अवार्ड (२०१५) भारतका शिक्षाविद् अच्युता सामन्तले पाएकी थिइन् भने तेस्रो (२०१७) इजिप्टको चिल्ड्रेन क्यान्सर हस्पिटललाई प्रदान गरिएको थियो ।

यसैगरी चौथो अवार्ड पाकिस्तानको प्रतिष्ठित सामाजिक सेवक संस्था इधी फाउन्डेसनलाई प्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *