‘विराटनगर हब अन्तर विद्यालय क्रिकेट’ हुने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा पहिलो पटक अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
‘क्रिकेट विथआउट बाउन्ड्री’ को सहयोगमा हुने प्रतियोगितामा विभिन्न आठवटा विद्यालयहरुको सहभागिता हुने भएको छ ।
‘विराटनगर हब इन्टर स्कुल टुर्नामेन्ट’ नाम दिइएको प्रतियोगितामा बाल्मीकि, बुढानीलकण्ठ, विनायक, सरस्वती, सत्यनारायण, पोखरिया, मनकामना र राइजिङ नेपाल स्कुलहरुको सहभागिता हुनेछ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले पहिलो पटक यस्तो प्रतियोगिता हुन लागेको बताए ।
प्रतियोगिता केशलिया रोडनजिक नवनिर्मित म्यारिलेबोन–विराटनगर ज्वाला क्रिकेट मैदानमा फागुन ११ देखि १८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको लिग खेल २५ ओभर र सेफिाइनल तथा फाइदल खेल ३० ओभरको खेलाइने श्रेष्ठले बताए ।
प्रतियोगिताका लागि टिम दर्ता शुल्क ७ हजार ५०० तोकिएको छ । करिब दुई लाख रुपैयाँ लागतमा हुने प्रतियोगिताका बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, म्यान अफ द टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट फिल्डरलाई विशेष पुरस्कार दिइने भएको छ ।
पुरस्कारमा ती उत्कृष्ट खेलाडीहरुलाई विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी (बीसीसीए) का तर्फबाट दर्ता शुल्कमात्र लाग्नेगरी एक वर्षको छात्रवृत्ति दिइने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित क्रिकेट विथआउट बोर्डरकी प्रतिनिधि सारा बेगले नेपाली क्रिकेटको विकास गर्नका लागि संस्थाले सहयोग गरिरहेको जानकारी दिएकी थिइन् ।