स्कटल्यान्डलाई हराउँदै नेपाल सिरिज च्याम्पियन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल क्लिन स्विप गर्दै दुई विकेटले विजयी भएको छ ।

जितसँगै नेपाल सिरिज च्याम्पियन बनेको छ । लिगमा नेपालको यो लगातार चौथो जित हो ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई स्कटल्यान्डले २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले ४६ ओभर १ बलमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

नेपालविरुद्धको खेलमा स्कटल्यान्डका जर्ज मुन्सीले अर्धशतक पूरा गर्दै सर्वाधिक ६० रन बनाए । उनले ५० बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, म्याथ्यु क्रसले ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोड । ब्रेन्डन म्याकमुलेनले ४८ बलमा ३ चौकासहित ३१ रन बनाए । यसैगरी, ओपनर काइल कोएत्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२–२२ रनको योगदान गरे ।

नेपालको कसिलो बलिङकासामु अन्य ब्याटरहरुले भने दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान रिची बेरिङटोन र माइकल लिस्क शून्य रनमा आउट भए भने टोमस म्याकिन्टसले १ रन बनाए । क्रिस ग्रेभ्सले ७, मार्क वाटले ८ रन बनाए भने सफिआन शरिफ ८ रन बनाउँदै अविजित रहे ।

नेपालका सन्दीप लामिछानेले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । उनले एकै ओभरमा लगातार दुई विकेट लिएका थिए । लामिछानेले जारी सिरिजमा १४ विकेट पूरा गरेका छन् ।

यस्तै, करण केसीले २ विकेट लिँदा ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए । १ विकेट दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए ।

नेपालका लागि रोहित पौडेलले कप्तानी पारी खेले । जवाफमा उत्रिएको नेपालको सुरुवात गतिलो हुन सकेन । ओपनर कुशल भुर्तेल टिमको स्कोर मात्रै एक रन हुँदा एक दशमलव एक ओभरमा मैदान बाहिरिए ।

उनलाई मार्क वाटले एलबीडब्ल्यू आउट गरेका हुन् । अर्का ओपनर आरिफ सेख १२ रनमा पेभेलियन फर्किए । ज्ञानेन्द्र मल्लले मात्रै २१ रनमा मैदान बाहिरिए ।

कुशल मल्ल १७ रनमा आउट भए । सन्दीप जोरा एक, दीपेन्द्र ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भएपछि नेपाल कमजोर अवस्थामा पुगेको थियो ।

तर, कप्तान रोहित पौडेल र करण केसीले ७५ रनको अविजित साझेदारी गरी टिमलाई जित दिलाएका हुन् । रोहितले एक सय एक बलमा ९५ रन बनाए । उनले सात चौका र चार छक्का प्रहार गरे ।

रोहितले कप्तानी पारी खेल्दै ५४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । रोहितको एक दिवसीय सातौं अर्धशतक हो । करण केसीले ३१ रन हिर्काए ।

यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *