मकै पोलेर बेच्नेहरुको बचत रकम दुरुपयोग

विराटनगर । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकले आफूहरुको करोडौं रकम ठगी गरेको भन्दै पीडितहरु आन्दोलित बनेका छन् । उनीहरुले विराटनगर महानगरपालिकाको न्यायिक समितिमा न्याय माग्दै उजुरी दिएका छन् ।

पीडितहरुले सरकारीबाट आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग राखेका छन् । बचतकर्ताको रकम नदिइ सञ्चालकहरु कार्यालय बन्द गरेर फरार भएपछि पीडितहरु आन्दोलित बनेका हुन् ।

विराटनगरमा केन्द्रीय कार्यालय रहेको यस सहकारीले सेयर सदस्यले बचत तथा निक्षेपमा राखेको रकम भाका नाघ्दा पनि दिन नसकेको भन्दै यसअघि जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिएका थिए । कतिपय बचतकर्ता महिलाहरुले आफूले शौचालय सफाइको काम गरेर, पोलेको मकै बेचेर अनि सुँगुर पालन गरेर कमाएको पैसा बचत गरेको तर ठगीमा परेको बताएका छन् ।

कतिपय महिलाले दुःख गरेर कमाएको रकम संस्थामा बचत गरेको तर संस्थाका सञ्चालकहरुले अन्यत्र लगानी गरेर आफूहरुमाथि ठगी गरेको बताएका छन् ।

स्थानीय ममता साह, नेहा भगत, बुथुनीदेवी मरिक र शकुन्तला मण्डललगायत धेरैजनाको रकम बचत गरेर अन्यत्रै लगानी गरिरहेको पाइएको छ ।

आफूहरुले बचत गरेको रकम सहकारीका सञ्चालकले मोटरपम्प लगायत विभिन्न ठाउँमा जग्गा खरिद, चामल तथा दाल उद्योग, डिपार्टमेन्ट स्टोर सञ्चालन जस्ता क्षेत्रमा लगानी गर्दै आएको बचतकर्ताको भनाइ छ ।

पीडित महिलाहरुले विराटनगर महानगरपालिकाको न्यायिक समितिमा पनि न्यायका लागि गुहार माग्दै उजुरी दिएका छन् । उजुरीमाथि छानबिन भइरहेको समितिले जनाएको छ ।

मोरङमा केन्द्रीय कार्यालयसहित झापा, सुनसरी, उदयपुर, संखुवासभा, धनकुटा, सिराहा, धनुषा जिल्लामा शाखा सञ्चालित तुलसी सहकारीमा १४ हजार बढी सानाठूला बचतकर्ताहरुको विभिन्न प्रकारका खाता सञ्चालित छन् ।

पीडितहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसमक्ष ज्ञापनपत्र पनि दिएका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले बचतकर्ताहरुको रकम सुरक्षित रहने व्यवस्थाका लागि पहल गर्ने बताएका छन् ।

दुई अर्ब रुपैयाँभन्दा बढी सेयर पूँजी भएको सो सहकारी २०७१ सालमा स्थापना भएको हो । यसैबीच, प्रहरीले सञ्चालकमध्येका तीनजनालाई पक्राउ गरेको जनाएको छ । सहकारी संस्थाका बचतकर्ताले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *