खोक्रो समृद्धिको आशमा…

सत्य बुझ्न गाह्रो छैन पूर्वाग्रही नभइ हेर्दा
असत्यले गाँजेको छ नेताजीले बोली फेर्दा
किन चाहियो अग्रगमन खाली पेटमा भुइँ मान्छेलाई
सन्तान सबै मुग्लानमा आङ ढाक्न नपाउनेलाई
दिवास्वप्न पूरा कहिल्यै हुन्न भन्नुहन्थ्यो बाले
सत्य वचन टेरिएन बल्ल आँखा खुल्न थाले
पश्चातापको पोखरीमा डुबुल्कीले के पो गर्छ
बिना रसको उखु चुस्दा ढोड मात्रै निल्नुपर्छ
गिदीभित्र गोबर मिसाइ नारा दिए सस्ता सस्ता
बिष रोपी अमृतको आशा गर्ने हामी कस्ता
इतिहास बङ्ग्याएर संस्कृतिको मुटु चिर्ने
भयौँ हामी डँडाल्नोमा विदेशीको झोला भिर्ने
कैले बुझ्ने नागरिकले भीडैभीडमा थिचिएको
खोक्रो समृद्धिको आशमा आफ्नै आमा बेचिएको
प्रतिक्रिया
Very nice 👍