मुख्य दलहरूको ध्यान राष्ट्रपतिमा

काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्नुपर्ने मिति नजिकिँदै गर्दा मुख्य राजनीतिक दलहरुको ध्यान ‘आफ्ना मान्छे’ लाई राष्ट्रपति बनाउनेमा केन्द्रित भएको छ ।

यसका लागि दलहरुले छलफल तीव्र बनाएका छन् । आन्तरिक छलफलका साथै अरु दलको सहयोग लिने प्रयासमा पनि छलफलहरु बाक्लिएका छन् ।

राष्ट्रपतिको निर्वाचन, उम्मेदवारीलगायत विषयामा छलफल गर्न सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ ।

पार्टीका नेता मातृका यादवले आजको बैठकमा राष्ट्रपति चयनलगायत विषयमा छलफल गरिने बताएका छन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । सरकारमा रहेका र सरकार बाहिर रहेका दलहरुले राष्ट्रपतिमा रुचि देखाइरहेका छन् ।

नेपाली कांग्रेस र सरकारमा सहभागी दल नेकपा एमालेका उम्मेदवार आकांक्षी देखिएका छन् ।

आइतबार कांग्रेस नेताहरुले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।

कांग्रेसले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेको थियो । प्रधानमन्त्री दाहालले पार्टीमा छलफल गरेर निर्णय गर्ने जनाएका थिए ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन्।

पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि अवस्था फेरिएको हो ।

एमालेले पुस १० सहमति कार्यान्वयनका अडान लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गदैृ माओवादीसहितका दलहरुसँग बनेको नयाँ गठबन्धन र सरकार बनेकै बेला राष्ट्रपतिबारे टुंगो लागेको दाबी गरेका थिए ।

उनले एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउने भन्दै सबैले सहयोग गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

राष्ट्रपतिको निर्वाचन निजिकिंदै गर्दा हाल कायम रहेका दलहरुको गठबन्धन र समीकरण फेरबदल हुन सक्ने चर्चा पनि चुलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *