‘लिभिङ्ग म्यान’

धेरै भएको रहेछ, म घरबाट कतै ननिस्किएको । आज फोनको ‘रिमाइन्डर’ हेर्दा पो पत्तो पाएँ । लेख्न पनि त्यति लेख्दिन, केमा पो व्यस्त हुन थालेछु !
‘कतै घुम्न जानुपर्यो, सायद पानामा केही उतार्ने विषय पो भेटिहाल्छु कि !’
आफैंसित बात मार्दै तयार हुन बाथरुम पस्छु । नुहाउँदै गर्दा तल फिँजहरु गुजुमुजु परेर बसेको देख् । त्यस्तो के हतार यिनिहरुलाई गन्तव्यमा पुग्न ?
आफूलाई हेर्छु । के म पनि हतारमा बाँचिरहेछु ? म खुब लेख्थेँ गन्तव्यका बारेमा, लेख्दालेख्दै आफैँलाई बिरक्त लाग्न थालेको थियो, मेरो अन्त्यहीन गन्तव्य सोचेर । के, समय त्यति सजिलै चिप्लिन्छ होला र ? हातबाट साबुन चिप्लेर तल खस्छ, म झसङ्ग हुन्छु ।
‘चिडियाघर घुम्न जानुपरो ।’
घर नजिकै भए पनि मेरो ध्यान कहिल्यै त्यतातिर गएन, दश दुनियाँ हेर्यो सब उस्तै लाग्छ । केही फरक थिएन चिडियाघर भित्र–बाहिर ।
सोच्दै गेटैमा पुगिसकेको हुन्छु, गेटमा रोबोट बोल्छ, ‘स्वागत छ । टिकटका लागि दाहिनेपट्टिको मेसिनमा एटीएम स्वाईप गर्नुहोला । धन्यवाद ।’
म उसको निर्देशन पालना गर्दै भित्र पस्छु, उसैले बताएको बाटो हुँदै पुग्छु जन्जिरहरुको दुनियाँमा । अब कता जाने ? म अलमल्ल पर्छु । त्यहाँको वातावरण बेग्लै छ, तर त्यो वातावरण मेरो मनभित्र चल्नेझैं लाग्छ ।
मनमा अनेकन कुरा खेलाउँदै गति चालिरहन्छु, बच्चैदेखि सिंबोट हेर्ने खुब रहर थियो, त्यतै पो जानुपर्ला । बाँबोट, मृबोट पनि देखिएला नि ! सिंबोट गर्जिएको टाढैबाट सुन्छु, कस्तो गहिरो आवाज । यो सिंबोट कहाँबाट ल्याएका होलान् ? एक्कासि तर्सन्छु, एउटा बाँबोटले झन्डै झोला उडाइदिएको । धन्न !
जनाबोटहरुको रमिता हेर्दै अगाडि बढ्छु, अलि पर भीडजस्तो छ, के भएछ ?
सबैजनाको ध्यान एक अजिब बस्तुले तानेको छ, मैले पनि पहिलोचोटि देखिरहेछु त्यो चिजलाई ।
‘के बस्तु हो यो ?’
कसैलै जवाफ फर्काए त मर्नु । त्यो बस्तु भुइँमा लडिरहेछ, अचल । कस्तो रमाइलो दृश्य, म पनि भुलिन्छु त्यो अजिब बस्तुको रमितामा ।
***
‘म कहाँ छु ? कसरी यो ठाउँमा आइपुगेँ ?’
मेरो शिर भारी भएको छ, यो के हुँदैछ म अनभिज्ञ छु । मेरो अगाडि अजिब बस्तुहरुको भीड देखेर झन् अचम्म परेको छु ।
किन यसरी मलाई घुर्दैछन्, म पत्तो पाउन सकिरहेको छैन । मलाई बारभित्र थुनेर राखिएको छ, म पुरा बेसहारा छु, एक्लो ।
ती बस्तुहरुको भिड झन्झन् बढिरहेको छ, म जोडजोडले चिच्याउँदा ती झन् अचम्म मान्दै मलाई घुर्छन् । ती बस्तुहरु कस्तो निर्जिव जस्तो, तर चलमल त गरिरहेछन् फेरि । म झन् डराइरहेको छु, मेरो मुटु फुट्लाजस्तै भएको छ ।
किन दया गर्दैनन् यिनिहरुले ? के यिनिहरुको मन छैन ?
अर्थहीन छ सब ।
ओडारको परतिर उज्यालो देख्छु, हत्तपत्त जोड लगाएर भाग्न खोज्छु ।
‘खर्ल्याङ्ग !’
खुट्टामा बाँधेको साङ्लोले जोडले थचार्छ त्यहीँ । उठ्ने प्रयास गर्दिन । एउटा साने बस्तु मेरो अगाडिको बोर्ड पढ्छ ‘लिभिङ्ग म्यान !’
Nice cha