महाशिवरात्रिका लागि सजाइँदै पशुपतिनाथ क्षेत्र

काठमाडौं । भोलि फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथ मन्दिर परिसरमा लाग्ने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ।

पशुपतिनाथ मन्दिर र आसपास क्षेत्रमा फूल र फूलका माला अनि अन्य सामग्री राखेर सजाउने काम भइरहेको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठवटा उपसमिति गठन गरिएको छ।

शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साज–सजावट व्यवस्थापन उपसमितिका संयोजक पूर्णसङ्गम जेठाराले बताए ।

विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तको लागि हंसमण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिने कोषका कोषध्यक्ष नारायण सुवेदीले जानकारी दिए।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइँदै छ। सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको कोषले जनाएको छ।

‘नागाबाबा’ हरुका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यस वर्षको शिवरात्रिमा शान्तिसुरक्षा व्यवस्थापनका लागि एक हजार पाँच सयको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुने भएका छन्।

मूल मन्दिर परिसरमा नेपाली सेनाले समेत व्यवस्थापनमा सहयोग पुर्याउनेछ ।

महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *